तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

'गेम चेन्जर आयोजना'को सूची बनाउँदै नेपाल सरकार

2019-12-21 14:20:52
r_1634765_2019122114204744008700.jpg

    नेपाल सरकारले देशको अर्थतन्त्रलाई नै उकास्न सक्ने ठूलो क्षमताका केही 'गेम चेन्जर आयोजना' अघि बढाउने भएको छ। यस्ता आयोजना छनोटको काम अहिले अन्तिम चरणमा रहेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको अनलाइन खबरले लेखेको छ।

    'हामीले हरेक मन्त्रालय र प्रदेशबाट करिब आधा दर्जन मापदण्ड तोकेर आयोजना माग गरेका थियौं,' आयोगका सदस्य सुशील भट्टले भन्नुभयो, 'मापदण्ड पूरा गरी आएका आयोजनाको छनोट गर्ने प्रक्रिया अहिले चलिरहेको छ।'

    चालु आर्थिक वर्ष २०७६/७७ मा छनोट भइसक्ने यस्ता आयोजनामध्ये केही पुरानै हुनेछन् भने केही नयाँ छानिने छन्। चालु आर्थिक वर्ष १५ औं आवधिक योजनाको आधार वर्ष हो। 'हामीले १६ औं योजनाको तयारीसमेत आजैबाट थाल्नुपर्छ,' भट्टले भन्नुभयो, 'त्यसकारण दीर्घकालीन सोचसहित गेम चेन्जर आयोजना अगाडि बढाउन लागिएको हो।'

    योजना आयोगले हरेक मन्त्रालय र प्रदेश सरकारबाट आफ्नो क्षेत्रको सबभन्दा प्रभावकारी, ठूलो र दीर्घकालीन आयोजनाको सूची मागेको थियो। आयोजनाले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य भूमिका खेल्नुपर्ने शर्त त्यस क्रममा राखिएको थियो।

    एउटै आयोजनाले जीडीपीमा कम्तिमा ०.५ देखि १ प्रतिशतसम्म योगदान गर्नुपर्ने शर्त आयोजना माग्दा नै राखिएको थियो। क्षेत्रगत रुपमा एउटै आयोजनाले कम्तिमा २० प्रतिशत योगदान गर्नुपर्ने शर्त छ। एउटा आयोजना बनिसकेपछि त्यसले पार्ने बहुआयामिक प्रभावलाई समेत शर्तका रुपमा हेरिएको छ। उक्त आयोजना बनिसकेपछि त्यसले अन्य क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई समेत मापदण्डमा समटिएको छ।

    आयोगका अनुसार मन्त्रालय र प्रदेश सरकारबाट गेम चेन्जर आयोजनाको सूची आइसकेको छ। त्यसलाई योजना आयोगले तोकिएको मापदण्डमा राखेर छनोट गर्ने क्रम चलिरहेको छ। आयोजनाको सूची सानो हुने तर त्यसले मुलुकको अर्थतन्त्रमै दीर्घकालीन प्रभाव पार्ने सदस्य भट्टको दावी छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान