तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढीबाट १ खर्बको सामान नेपालमा आयात

2019-12-21 14:17:59
r_1634764_2019122114175543483600.jpg

    आर्थिक वर्ष २०७२/७३ पछि चालु आवको पहिलो चौमासिकसम्म रसुवागढी नाका हुँदै १ खर्ब ९ अर्ब ५४ करोड ३६ लाख बराबरको सामान आयात भएको छ। सोही अवधिमा ४ अर्ब २५ करोड ४५ लाख १ हजार बराबरको सामान निर्यात भएको कान्तिपुर अनलाइनले लेखेको छ। 

    भूकम्पपछि रसुवागढी नाका हुँदै बर्सेनि सामान आयात हुने क्रम बढेको रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो। रसुवागढी उत्तरी चीन जोड्ने सबैभन्दा पुरानो नाका हो। यहाँ २०१३ सालमै भन्सार स्थापना भएको थियो। पुरानो नाका भए पनि त्यति बेला रसुवागढीसम्म सडक पुगेको थिएन। चीन सरकारको सहयोगमा स्याफ्रु-रसुवागढी सडक निर्माण भएपछि नाका यातायात सञ्जालबाट जोडिएको हो।

    २०७१ मंसिर १५ देखि नाका सञ्चालनमा आएको हो। २०७२ वैशाख १२ को भूकम्पले केही महिना रसुवागढी नाका बन्द भएको थियो। भूकम्पपछि चीनबाट हुने धेरैजसो आयात यही नाकाबाट हुने गरेको छ। आव २०७२/७३ मा रसुवागढी नाकाबाट १० अर्ब ६५ करोड ४५ लाख ३७ हजार मूल्य बराबरको सामान आयात भएको छ। उक्त आवमा ६१ करोड १५ लाख ५१ हजार बराबरको सामान निर्यात भएको थियो। साथै २ अर्ब ४४ करोड ६८ लाख ९ हजार राजस्व संकलन गरेको थियो।

    आव २०७३/७४ मा १५ अर्ब ९७ करोड १७ लाख ७६ हजार मूल्य बराबरको सामान आयात भएको छ भने ७७ करोड ५३ लाख ५६ हजार बराबरको सामान निर्यात भएको छ। उक्त आवमा २ अर्ब ९२ करोड १८ लाख राजस्व संकलन भएको छ। आव २०७४/७५ मा २२ अर्ब ६४ करोड ८७ लाख ६६ हजार बराबरको सामान आयात भएको छ भने १ अर्ब १६ करोड ६२ लाख ३२ हजार बराबरको निर्यात भएको छ। उक्त आवमा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व संकलन भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ।

    आव २०७५/७६ मा ४० अर्ब ८५ करोड ११ लाख ३७ हजार बराबरको सामान आयात हुँदा १ अर्ब २० करोड ९६ लाख १६ हजार बराबरको सामान निर्यात भएको छ। उक्त आवमा भन्सारले १० अर्ब ६० करोड २४ लाख १९ हजार राजस्व संकलन गरेको छ। चालु आवको पहिलो चौमासिकमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार बराबरको सामान आयात भएको छ। निर्याततर्फ भने ४८ करोड १७ लाख ४६ हजार बराबरको सामान छ। पहिलो चौमासिकमा भन्सार कार्यालयले ५ अर्ब ५० करोड १२ लाख ५६ हजार राजस्व संकलन गरिसकेको छ। भन्सार विभागले आव२ ०७६/७७ का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ। यो नाकाबाट विशेषगरी तयारी पोसाक आयात हुने गरेको छ। फलफूल, मेसिनरी सामान, इलेक्ट्रिक सामान, जुत्ता र चप्पल पनि आउने गरेको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान