तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

वाग्मतीको सफा प्रशोधन गरिने

2019-12-20 15:46:20
r_1634561_2019122015461692882000.jpg

    फोहोर पानी प्रशोधन गरेर अब वाग्मतीमा सफा पानी बगाइने भएको छ। काठमाडौंको गुह्येश्वरीस्थित पानी प्रशोधन केन्द्रबाट वाग्मतीमा सफा पानी बगाउने गरी खानेपानी तथा सरसफाइ मन्त्रालयले तयारी थालेको हो। बौद्ध, जोरपाटी, गोकर्ण, गोठाटारलगायत क्षेत्रको ढल र फोहोर पानी प्रशोधन गरी वाग्मतीमा पानी मिसाउने अन्तिम तयारी भइरहेको मन्त्री बिना मगरले जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

    'प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ,' उहाँले भन्नुभयो, 'मेलम्चीको पानी आइसकेपछि फोहोर पानीको मात्रा पनि बढ्ने भएकाले त्यहीअनुसार संरचना तयार गरेका हौं।' मन्त्रालयका अनुसार केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।

    प्रशोधन केन्द्रको उच्च प्रविधिबाट फोहोर पानी फिल्टर गरेर वाग्मतीमा मिसाउन लागिएको हो। केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्नेछ। पहिलो चरणमा सल्लाघारी र कोडकुमा एक/एकवटा तथा धोबीघाट र गुह्येश्वरीमा दुई/दुईवटा प्रशोधन केन्द्र निर्माण भइरहेका छन्। सल्लाघारीमा १ करोड ४२ लाख फोहोर पानी प्रशोधन गरिनेछ। प्रशोधन गर्दा निस्केको मिथेन ग्यासबाट करिब ३ सय ८० किलोवाट विद्युत्समेत निकालिने बताइएको छ। त्यसैगरी धोबीघाटमा ८ करोड ७७ लाख र कोडकुमा प्रतिदिन १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन हुने मन्त्रालयले जनाएको छ।

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा निर्माणाधीन ६ वटा केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानीमात्र प्रशोधन गर्ने जनाएको छ। ८० प्रतिशत फोहोर पानी प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत भइरहेको छ। गुह्येश्वरीको पुरानो फोहोर पानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धिको काम अघि बढिरहेको आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख भोज थापाले बताउनुभयो। 'अब गुह्येश्वरीमा फिल्टर गरेर पठाएको पानीमा माछालगायतका प्राणी बाँच्न सक्छन्,' उहाँले भन्नुभयो। प्रशोधन केन्द्रले सुरुङमार्फत तिलगंगास्थित वाग्मतीमा पानी मिसाएको उल्लेख गर्दै उहाँले अब गुह्येश्वरीबाट सिधै वाग्मतीमा प्रशोधित पानी मिसाइने बताउनुभयो। 'आर्यघाटमा नुहाउनयोग्य पानी हुन्छ,' उहाँले भन्नुभयो, 'तर, पिउन योग्यचाहिँ हुँदैन।'


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान