नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

2019-10-17 15:27:28

    पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो। पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ। नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ। त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ ।

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन्। यो सङ्ख्या अहिलेसम्मकै उच्च हो। त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो। प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि रहेको गोरखापत्र अनलाइनले लेखेको छ। ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ। नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो। सन् २०१७ मा नेपाल भित्रिने पर्यटक सङ्ख्या नौ लाख ४० हजार थियो। त्यस्तै सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागको तथ्याङ्क छ। सन् २०१६ र २०१७ को तुलनात्मक पर्यटक सङ्ख्याको वृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो।

    नेपालले लगातार दुई वर्ष पर्यटक आगमनमा करिब २५ प्रतिशतकै वृद्धिदर हासिल गर्न सफल भएको हो। सन् २०१९ को अगस्टसम्म सात लाख ४२ हजार छ सय पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्क छ। नेपालले सन् २०२० लाई भ्रमण वर्ष नै घोषणा गरी २० लाख पर्यटक भित्र्याउने तयारी गरेको छ। यसका लागि छुट्टै सचिवालय नै स्थापना गरेर तयारीको प्रक्रिया अगाडि बढाइएको छ।

    पाटाकै प्रतिवेदनअनुसार पर्यटक सङ्ख्यामा वृद्धिको हिसाबले मात्रै चीन अगाडि रहेको छ। चीनमा सन् २०१८ मा ७७ लाख बढी नयाँ पर्यटकले भ्रमण गरेका छन्। त्यसपछि टर्की, हङकङ, मकाउ र थाइल्यान्ड क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्। सन् १९५१ मा स्थापना भएको पाटा एसिया प्रशान्त क्षेत्रको पर्यटन विकास र संरक्षणमा सक्रिय छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान