नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार सुरू

2019-10-17 15:23:14

    दोस्रो चरणको चक्रपथ विस्तारको काम सुरू भएको छ। पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म ८ लेनमा विस्तार गरिएको चक्रपथ दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको ८.५ किलोमिटर भाग पनि सोही अनुसार विस्तार गर्ने सडक विभागले जनाएको छ। विस्तारको सबै काम चिनियाँ सरकारको सहयोगमा हुने सेतोपाटी अनलाइनले लेखेको छ।

चक्रपथ विस्तारमा एक/एक वटा अण्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गर्ने विभागले जनाएको छ। चक्रपथमा पर्ने बालाजु नयाँ बजार चोकमा ओभरपास तथा महाराजगञ्ज चोकमा अण्डरपास बनाउने गरी प्रस्ताव गरिने भएको हो। ८ लेनको चक्रपथमा अण्डरपास तथा ओभरपास भने चार लेनको मात्रै हुने बताइएको छ। योसँगै विभागले कलंकीदेखि महाराजगञ्जबाट पनि बढाएर गोपीकृष्णसम्म विस्तार गर्ने प्रस्ताव पनि गर्ने बताएको छ।

    पहिलो चरणको कलंकीदेखि कोटेश्वरसम्मकै शैलीमा विस्तार गरिने भए पनि यो सडक खण्डमा सुरक्षाका विषय भने सुधार गर्न लागिएको सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाले बताए। उनले भने, 'पहिलो खण्डबाट सिक्दै केही सुधार गर्न खोजेका छौं, यो खण्डमा मूल सडकको बीचमा डिभाइडर पनि राखिने छ।' थापाका अनुसार अहिले विभागले उक्त सडक खण्डको साइड क्लियरिङको काम सुरू गरेको छ।

    चक्रपथ विस्तारमा स्वयम्भूको गेटमा रहेको बुद्धको ठूलो मूर्ति पनि हटाउनु पर्ने भएको छ।

    थापाका अनुसार दोस्रो चरणको चक्रपथ विस्तारमा बुद्धको मूर्ति र वनस्थली र स्वयम्भूको बीचमा पर्ने १ सय ३२ केभीको विद्युत टावर पनि हटाउनु पर्ने भएको छ। यस्तै, चक्रपथ विस्तारमा महाराजगञ्जको चोकको दुवैतर्फ सडक साँघुरो रहेकाले पनि समस्या भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान