नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

रेलमार्ग सम्भाव्यता अध्ययन चीनबाटै

2019-10-15 15:43:16

    बहुप्रतीक्षित काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका दौरान यसमा चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएको अन्नपूर्णपोस्टले लेखेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल-चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो। चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गर्ने गरिन्छ। पूर्वसम्भाव्यता अध्ययनले उक्त रेलमार्ग निर्माण सम्भव देखाएको छ। त्यो अध्ययनलाई थप प्रभावकारी बनाउन सम्भाव्यता अध्ययन गर्न खोजिएको विभागले जनाएको छ। त्यसका आधारमा डीपीआर र निर्माण मोडालिटीको टुंगो लाग्नेछ।

    पूर्वसम्भाव्यता अध्ययनअनुसार रेलमार्ग ७२.२५ किलोमिटर हुनेछ। जटिल भौगोलिक संरचनामा रेलमार्ग निर्माण गर्नुपर्ने हुन्छ। रेलमार्गको ९८.५ प्रतिशत खण्ड पुल तथा सुरुङमा रहनेछ। तीन प्रतिशतभन्दा उकालो चढाइ नपर्ने गरी रेलमार्ग बनाउने गरिन्छ। १ सय मिटरसम्म बढीमा तीन मिटरको मात्रै उचाइ हुन सक्ने र त्यसभन्दा बढी भए रेल जान नसक्ने अन्तर्राष्ट्रिय तथा प्राविधिक अभ्यास छ। तसर्थ, तीन प्रतिशतभन्दा कम उकालो जान सक्ने गरी बनाउनुपर्ने भएकाले खोलामा पुल, पहाडमा सुरुङ र उकालो हुने अवस्थामा अनिवार्य लामो घुम्ती बनाउनुपर्छ।

    भौगोलिक जटिलताका कारण लागत ३ खर्बभन्दा बढी पर्न जानेछ। लागतका हिसाबले यो नेपालको बजेटको करिब एकचौथाइ हो। एउटै परियोजनामा नेपालले खर्ब रकम खर्च गर्न सक्ने अवस्था रहँदैन। चीनबाट सामान आयात र पर्यटक भित्र्याउन यो रेलमार्ग महत्वपूर्ण हुन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान