नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने विश्व बैङ्कको प्रक्षेपण

2019-10-14 16:55:39

    विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन 'मेकिङ डिसेन्ट्रलाइजेसन वर्क'मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ। बङ्गलादेशको यस वर्षको वृद्धिदर ८.१ प्रतिशत पुग्ने बैङ्कको प्रक्षेपण छ।
नेपालपछि छिमेकी मुलुक भारतको वृद्धिदर छ प्रतिशत रहने छ। त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलङ्काको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ। 
नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैङ्कको छ। सन् २०२० मा ६.४ र २०२१ मा सामान्य वृद्धि भई ६.५ पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । यद्यपि आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म औसतमा ६.५ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू वर्षमा नेपालको आथिृक वृद्धिदरलाई निकै सहयोग पुग्ने बैङ्कले जनाएको छ । भ्रमण वर्ष २०२० का तयारी कार्यक्रम, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा ठूला होटलको समेत निर्माण पूरा हुँदा त्यसको प्रत्यक्ष लाभ नेपालको आर्थिक विकासमा देखिने बैङ्कले जनाएको छ । त्यस्तै लगानीमा भएको सुधार र सार्वजनिक खपतको वृद्धि समग्र अर्थतन्त्रलाई अगाडि बढाउन मुख्य सावित हुने प्रतिवेदनमा उल्लेख छ। 
नेपालको अर्थतन्त्रमा यस वर्ष व्यापक सुधारको प्रक्षेपण गरिए पनि दक्षिण एसियाली अर्थतन्त्रको वृद्धिदर भने बिस्तारै घट्दै जाने बैङ्कको विश्लेषण रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान