तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

2019-10-11 15:17:31

विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ। नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ। बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ। यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ। बङ्गुरको मासु निर्यात हुनसक्ने प्रचुर सम्भावनालाई महसुस गर्दै सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत लगानीमा हाल १० हजारको सङ्ख्यामा बङ्गुर उत्पादन गरिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्थाका अध्यक्ष तथा पूर्वसांसद कृष्णबहादुर गुरुङले बताएको राससले लेखेको छ।

कृषि तथा पशुपक्षी विभागका सूचना अधिकृत डा चन्द्र ढकालले जनताको खाद्य अधिकारलाई सुरक्षित गर्नु अपरिहार्य भएको बताउनुभयो। उहाँले भूमिहीन, सुकुम्बासी तथा आर्थिकरुपले पछाडि परेका समुदायको आर्थिक अवस्थालाई माथि उठाउन सरकारले लक्षित वर्गले उत्पादन गरेका गुणस्तरीय बङ्गुर सङ्ग्रह गरी बधशालाबाट तयार पारिएको मासु चीनमा निर्यात गर्ने उद्देश्यले पोर्क पार्क स्थापना गरिएको बताउनुभयो। त्यसो त चीन सरकारले मित्रराष्ट्र भएका हैसियतले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधिको विस्तारमा सहयोग पुर्याउने बताइसकेको छ। नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा सञ्चालन गरिने आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बोट्राउट माछा उत्पादन लगायतको परियोजनामा अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गर्न सहमति गरेको छ।

परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म सञ्चालन हुनेछ। परियोजनाका लागि चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग गर्ने घोषणा गरेको छ। उक्त परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीनमा लगेर र अन्य २४० जना किसानलाई नेपालमा नै तालीम दिने भएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो।

चीन सरकारको उक्त सहयोगपछि नेपालका १३ हजार बङ्गुर व्यवसायीमा उत्साह जागेको छ। चीन सरकारबाट उच्च तथा दक्ष प्रविधियुक्त जनशक्ति उपलब्ध हुनसक्दा नेपाली व्यवसायीले गुणस्तरीय बङ्गुरको मासु उत्पादन गरी निर्यात गर्नसक्ने ढोका खुल्ने सम्भावना रहेको बङ्गुर व्यवसायी सङ्घ नेपालका अध्यक्ष उमेशकुमार राईले राससलाई बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान