उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पहिलो सर्त पूर्वाधार विकास रहेको बताउनुभएको छ। नेपाल सरकार र नेपाल उद्योग परिसङ्घले संयुक्त रूपमा आयोजना गरेको दुईदिने तेस्रो पूर्वाधार सम्मेलनलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले विगतका सात दशक राजनीतिक परिवर्तनमै व्यतीत भएको स्मरण गर्नुभयो। उहाँले अब मुलुक आर्थिक समृद्धिको मूल एजेन्डा पूरा गर्न लागिपरेको बताउनुभयो ।
मुलुकले कृषि, पर्यटन, जलविद्युत् उद्योग पूर्वाधारको तीव्र विकासबाट समृद्धि चाहेको उहाँले स्पष्ट पार्नुभयो । “विश्वकै उदाहरणीय संविधानले देशमा सङ्घीयता, गणतन्त्र, समावेशी शासन व्यवस्था सुरक्षित गरेको छ”, उहाँले भन्नुभयो, “अब दिगो विकास, आर्थिक तथा सामाजिक रूपान्तरण हाम्रो आवश्यकता हो । ”
मुलुकको अर्थतन्त्र प्रगतिशील दिशामा अगाडि बढिरहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले निजी क्षेत्रको र वैदेशिक लगानीबाट समृद्धिले अझै गति लिनुपर्ने बताउनुभयो। “हामीले ७.१ प्रतिशतको आर्थिक वृद्धि गर्न सकेका छौं, १५औँ योजनामा दोहोरो अङ्कको वृद्धि हासिल गर्ने लक्ष्य लिएका छौं”, उहाँले थप्नुभयो, “दिगो विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र तथा वैदेशिक लगानीबाट ६० प्रतिशत योगदान हुने गरी समृद्धिको सपना साकार पार्नेछ। ”
गोरखापत्र अनलाइनका अनुसार नेपालको निजी क्षेत्र तथा विदेशी लगानीका लागि नेपालमा उपयुक्त अवसर सिर्जना भएको र त्यसलाई सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो। “नेपाल लगानीको उर्वर र 'भर्जिन ल्यान्ड' हो । निजी क्षेत्रले विदेशी लगानी ल्याउन भूमिका खेलेर लगानीमैत्री वातावरणको उच्चतम उपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।