नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चीनसँग व्यावसायिक साझेदारीलाई अझै मजबुत बनाउन नेपालको निजी क्षेत्रको माग

2019-08-26 15:03:41

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीले आइतबार नेपालका लागि चीनको बेइजिङस्थित नेपाली राजदूतावासका नवनियुक्त इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीसँग भेट गर्नु भएको छ।

    चेम्बर अफ कमर्सको सचिवालयमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले पराजुलीसँग आपसी व्यवसाय प्रवर्द्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। उहाँले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढी पर्ने, जीरो ट्यारिफ र ८ अंकको एचएस कोड प्रयोग हुने हुँदा शून्य भन्सार सुविधा लिन गार्‍हो, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताउनुभयो।

    उहाँले दोस्रो बेल्ट एन्ड रोड इनिसिएटीभ सम्मेलनमा नेपालप्रति देखाएको प्रतिवद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पूरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो। चीन पहिलो वैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भए पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमै कार्यान्वयन हुनुपर्ने बताउनुभयो। पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो। उहाँले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यावसायिक कृषि, खनिज, सिमेन्ट, जडिबुटी, उद्योग र शिक्षा रहेको बताउनुभयो।

    श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहको अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले केरुङ, काठमाडौं, लुम्बिनी रेलवेको कार्य तीब्रताका साथ अगाडि बढाउनुपर्ने र चीनको सीसीपीआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, सूचनाको आदान प्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदूतावासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा गर्नुभयो। सो भेटमा चीनको बेइजिङस्थित नेपाली राजदूतावासका नवनियुक्त इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले दुई पक्षीय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान