नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

बीआरआईलाई सफल पार्न नेपाल राजनीतिक रूपमा तयार रहेको पूर्वप्रधानमन्त्री खनालको भनाइ

2019-08-25 14:37:47

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई सफल हुन नदिन दक्षिण एसियामा सञ्चालित बिभिन्न अभियानविरुद्ध लड्न नेपाल राजनीतिक रूपमा तयार रहेको बताउनुभएको छ। चारदिने चीन भ्रमणको क्रममा ‘क्वाङ्तोङ २१औं शताब्दी मेरिटाइम सिल्करोड अन्तराष्ट्रिय एक्स्पो'लाई सम्बोधन गर्दै खनालले यस्तो धारणा राख्नुभएको हो।

नेता खनालले छिमेकी मुलुक चीनसँग नेपालले अब सांस्कृतिक र व्यापारिक आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै नेपाल-चीन इकोनोमिक करिडोरको विकास गर्न सकिने पनि बताउनुभयो। नेपाल-चीन सम्बन्ध १६ सय वर्ष पुरानो रहेको स्मरण गर्दै खनालले भन्नुभयो, ‘अब सांस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गर्नुपर्छ। बीआरआई कार्यान्वयनका लागि नेपाल-चीन इकोनोमिक करिडोरको विकास गर्न सकिन्छ।'

ट्रान्स हिमालयन इकोनोमिक करिडोरको स्थापना र नेपाल चीनबीचको रेल नेटवर्कको सम्बन्धले सिल्क रोडको ल्हासा-काठमाडौं-भारत खण्डलाई पुनजिर्वित पार्ने बताउँदै उहाँले यसबाट नेपालले पनि लाभ लिनसक्ने बताउनुभयो। नेता खनालले सन् २०१७ मा बेल्ट एण्ड रोड इनिसियटिभ -बीआरआई) मा नेपालले हस्ताक्षर गर्नुपूर्व विभिन्न समयमा द्वीपक्षीय समझदारी भएको र ती समझदारीपत्रहरु बीआरआईको आधारपत्र तयार गर्न सहायक भएको बताउनुभयो।

नेपालले चाहेको आर्थिक समृद्धि दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुन सक्ने खनालले बताउनुभयो। अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरुमा दुई देशले सँगै काम गर्न सकिने उहाँले बताउनुभयो। त्यसका लागि कर नीति, कानुन, नीति नियम, मुद्राको आदानप्रदानको सीधा प्रणालीलगायतलाई सहज बनाउने र अन्य गतिविधिहरूमा दुई देशबीच एक समझदारी हुनु आवश्यक रहेकोमा खनालले जोड दिनुभयो।

खनालले नेपाल पर्यटन वर्ष २०२० को बारेमा चीन सरकारले सरकारीस्तरबाट नै जानकारीमुलक कार्यक्रम लागु गरोस् भन्ने चाहना पनि प्रकट गर्नुभएको थियो।

नेता खनाल चारदिने चीन भ्रमण सम्पन्न गरी शनिबार राति साढे ९ बजे काठमाडौं फर्किने अनलाइनखबरले जनाएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान