नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

प्रम ओलीले आगामी बिहीबार पानीजहाज कार्यालयको उद्घाटन गर्नुहुने

2019-02-12 14:25:30

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यही हप्ता ‘नेपाल पानीजहाज कार्यालय' उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ललितपुरको एकान्तकुनामा स्थापना गर्न लागिएको पानी जहाज कार्यालयको प्रम ओलीले आगामी विहीबार (२ फागुन) मा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल खबर अनलाइनले लेखेको छ। मन्त्रिपरिषदको ३० पुसको बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो।

मन्त्री परिषदले निर्णय गरेको एक महिनापछि कार्यालयको औपचारिक रुपमा सञ्चालन आउन लागेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले सह-सचिवको नेतृत्वमा रहने पानीजहाज कार्यालयमा १६ जना कर्मचारीका व्यवस्था रहेको बताउनुभयो।

‘मेकानिकल इन्जिनियरको नेतृत्वमा कार्यालय रहने छ' प्रवक्ता सापकोटाले भन्नुभयो, ‘तर कार्यालयमा रहने कर्मचारीको नाम तय भइसकेको छैन।'

सापकोटाका भनाईमा, कार्यालय स्थापना भएपछि त्यसले सरोकारवाला विभिन्न मन्त्रालय र निकायबीच समन्वय गरेर काम गर्न सहज हुनेछ।

पानीजहाज सञ्चालनका लागि भौतिक योजना, ऊर्जा र उद्योग मन्त्रालयले छुट्टाछुट्टै रुपमा काम गर्दै आएको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा प्रम ओलीले ०७२ मा नेपालीका राष्ट्रिय झण्डासहितका पानीजहाज महासागरमा चलाउने बताउनु भएको थियो।

दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रम ओलीले गत १६ पुषभित्र पानी जहाज सञ्चालन भइसक्ने दावी गर्नुभएको थियो। ओलीले कोशी र नारायणी नदी हुँदै हिन्द महासगारबाट पानीजहाज चलाउने बताउँदै आउनु भएको छ। त्यसै अनुरुप सरकारले पनि भारतसँग भारतीय नदीका जलमार्ग प्रयोग गरेर महासागरसम्म पुग्ने समझदारी पत्रका हस्ताक्षर गरिसकेको छ।

यसबीचमा प्राविधिक विषयमा अध्ययन गर्न नेपाल र भारतका टोलीहरुले दुवै देशको भ्रमण पनि गरिसकेका छन्। तर, नेपालमा पानीजहाज सञ्चालन गर्ने विषय सामाजिक सञ्जाल र अन्यले विभिन्न स्थानमा खिसिट्युरीको विषय बन्दै आएको छ।

त्यसै सिलसिलामा ओलीले एउटा सम्बोधनका क्रममा १६ पुषभित्र पानीजहाज सञ्चालन हुने बताउँदै टिकट काटेर आउन निमन्त्रणा दिनु भएको थियो।




समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान