नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाली मूलका ह्यारीले अमेरिकी संसदमा निर्वाचित

2018-11-09 15:11:28

अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपाली मूलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनु भएको छ। बाल्टिमोर काउन्टीको मेरिल्याण्ड डिष्ट्रिक्ट ८ बाट विधायकसभा (स्टेट डेलिगेटस) मा उहाँले जीत हासिल गर्नुभएको हो। अमेरिकाको राजनीतिक तहमा रहेका नेपाली मूलका व्यक्तिमध्ये भण्डारी नै सबभन्दा उच्च तहमा पुग्नु भएको व्यक्ति भएको सेतोपाटी अनलाइनले लेखेको छ। 

तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हुँदै उहाँ निर्वाचित हुनु भएको हो। उहाँले २० हजारभन्दा बढी मत ल्याउनु भएको छ। भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बन्नु भएको थियो। गत जुनमा उहाँ डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित हुनु भएको थियो।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका पुग्नु भएका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक हुनुहुन्थ्यो। अमेरिकामा पनि प्राध्यापन पेशामै आवद्ध हुनुहुन्छ।

एकचालिस वर्षे भण्डारीको खास नाम हिराबहादुर भण्डारी भएपनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले उहाँ चिनिनुहुन्छ।

गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उहाँ दोस्रो भएर निर्वाचित हुनु भएको थियो। यसअघि सन् २०१४ मा अमेरिकामा पहिलोपटक उम्मेदवार बन्नु भएका भण्डारी त्यतिबेला भने पराजित हुनु भएको थियो। अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ का दिन निर्वाचन हुने गर्छ। दुई वर्ष पहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो।

अहिले केन्द्रीय प्रतिनिधि सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सयमध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र स्टेट डेलिगेटस (विधायकसभा)का साथै स्थानीय तहको निर्वाचन भएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान