नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

2018-11-08 14:58:22

देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गर्नु भएको छ।

प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले हिजो बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उहाँको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी 'रोक्टोफिटिङ' गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए।

महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उनका छोरा डा पदमप्रसाद देवकोटा बस्दै आउनु भएको छ। विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र विसं २०१६ भदौ २९ गते निधन भएका महाकावि देवकोटाका 'मुनामदन', 'सुलोचना', 'शाकुन्तल' 'पहाडी पुकार' लगायत दर्जनौँ लोकप्रिय कृति प्रकाशित छन्। उहाँ पूर्व शिक्षामन्त्रीसमेत हुनुहुन्छ।

गतसाता छातिमा संक्रमण भएर उपचारार्थ अस्पताल भर्ना भई निवास फर्केपछि पहिलो पटक सार्वजनिक मन्तव्य दिनु भएका प्रधानमन्त्री ओलीले महाकवि देवकोटाका विभिन्न कविता सुनेपछि भन्नुभयो, "देवकोटाजस्तो बौद्धिक ज्ञानयुक्त विलक्षण कवि मैले विश्वमै देखेको छैन। उहाँ प्राकृतिक प्रतिभा हो, मूलबाट फुटेर खसेको झाँगोजस्तो हुनुहुन्थ्यो।"

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान