अन्नपूर्ण आधार शिविरसम्म हेलिकप्टरबाट पर्यटक लैजान रोक_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

अन्नपूर्ण आधार शिविरसम्म हेलिकप्टरबाट पर्यटक लैजान रोक

2018-08-11 14:45:01

पोखराबाट हेलिकोप्टरमा पर्यटक उडाएर अन्नपूर्ण आधार शिविर (एबिसी) मा लैजान रोक लगाइएको छ। अन्नपूर्ण गाउँपालिकाले यात्रु ओसार्ने गरी आधार शिविरसम्म उडान र अवतरण गर्न हेलिकोप्टरलाई रोक लगाएको हो।

आगामी भदौ १ गतेदेखि हेलिकोप्टरले आधार शिविरसम्म व्यावसायिक उडान गर्न नपाउने गाउँपालिकाले बताएको छ। विगत केही वर्षदेखि पोखरा विमानस्थलबाट पर्यटक उडाएर आधार शिविर पु-याउने र केही समय घुमफिर गर्न दिएर फर्काउने गरिएको थियो। तर, अबदेखि उद्धार र राहतका काममा बाहेक व्यावसायिक उडानमा हेलिकोप्टरले पर्यटक ओसार्न नपाउने गरी गाउँपालिकाले निर्णय गरेको अध्यक्ष युवराज कुँवरले बताउनुभयो।

फरक क्षमताका पर्यटकलाई भने विशेष अनुमति दिएर हेलिकोप्टरमा लैजान र ल्याउन पाइने तर, नियमित पर्यटक ओर्सान नपाउने गरी रोक लगाएको कुँवरले बताउनुभयो। पर्यटकीय सिजनमा विभिन्न हेलिकोप्टर कम्पनीले दैनिक डेढ दर्जनभन्दा बढीपटक आधार शिविरसम्म उडान गर्दै आएका थिए। ‘मानवीय उद्धार र राहतका लागि कसैले अनुमति लिनुपर्ने जरुरी छैन। तर, पर्यटक लगेर केहीबेर घुम्न दिएर फर्काउने गरी आउजाउ गराउन पाइँदैन,' उहाँले भन्नुभयो।

उहाँका अनुसार आधार शिविर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ। त्यसैले त्यहाँसम्म जाँदा विशेष अनुमति चाहिन्छ । अनि विदेशी पर्यटक आधार शिविर पुग्दा एक्याप र पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापत शुल्क तिर्नुपर्छ। अहिलेसम्म दुवै शुल्क छल्दै आएका थिए। त्यसको मार राजस्वमा पनि परेको थियो, नागरिकन्यूजले लेखेको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान