तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल राष्ट्रबैंकद्वारा मौद्रिक नीति सार्वजनिक

2018-07-12 16:17:55 CRI

आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट रु ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउनेछ। यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था थियो।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा स्थायी तरलता सुविधा दर ७.० प्रतिशतबाट ६.५ प्रतिशत र तल्लो सीमाका रुपमा दुईहप्ते निक्षेप संकलन दर तीन प्रतिशतबाट ३.५ प्रतिशत कायम गरिएको छ। अल्पकालीन बजार ब्याजदरमा हुने उतारचढावलाई न्यूनीकरण गर्न ब्याजदर करिडोरको परिधी केही साँघुरो बनाइएको हो। त्यसैगरी वैधानिक तरलता अनुपात वाणिज्य बैंकका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरिनेछ।

मौद्रिक नीतिअनुसार अन्तिम ऋणदाता सुविधा दरको रुपमा रहेको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ। लगानीयोग्य साधन बढाउने उद्देश्यले केन्द्रीय बैंकले २०७४ चैतमा वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो। यसको दायरा थप विस्तार गर्दै बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था भएकोछ ।

पूर्वाधारका परियोजनामा भित्रिने विदेशी लगानीलाई राष्ट्र बैंकमा छुट्टै कोषमा जम्मा गरी 'हेजिङ' सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ। उक्त कोषले विदेशी लगानीकर्ताले व्यहोर्नुपर्ने विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पुर्याउने छ । यस्तो सुविधाबाट ठूला जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित हुने विश्वास गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान