तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

रुद्राक्षको दानालाई रुखमै कृत्रिम स्वरुप प्रदान क्रम बढ्दै

2018-06-10 15:46:36

सङ्खुवासभामा रुद्राक्षको फूल सुक्न थालेसँगै रुद्राक्ष बजारको चर्चा सुरु हुन थालेको छ। रुद्राक्षको बजार मूल्यसँगै प्राकृतिक र कृत्रिम स्वरुपको रुद्राक्षको बारेमा बहस चुलिएको छ। केही वर्षयता रुद्राक्षको आकार परिवर्तन गर्ने औजार (क्लिप) प्रयोग गरी प्राकृतिक स्वरुप परिवर्तन गर्ने प्रचलन बढ्दो छ। जिल्लाका केही किसानले रुद्राक्षको बोटमै फल (दाना) को तल्लो र माथिल्लो भागबाट चेप्टाएर आकार परिवर्तन गराउने गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

यसरी रुद्राक्षको कृत्रिम स्वरुपले रुद्राक्षको महìव घट्ने रुद्राक्ष व्यवसायीको भनाइ छ। यसले रुद्राक्षको बजारलाई पनि प्रत्यक्ष असर गर्ने उनीहरूले बताउँदैआएका छन्।

रुद्राक्षको आकार बिगारे यसको धार्मिक महत्व गुम्ने र यसले बजार मूल्यमा समेत असर गर्ने भएकोले यो प्रविधि हटाउनुपर्ने रुद्राक्ष व्यवसायी सङ्घ, सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर बिसुङ्केले बताउनुभयो। लामो समयसम्म रुद्राक्षको बजार बचाइराख्न कृत्रिम प्रविधि हटाउन आवश्यक रहेको बिसुङ्केले बताउनुभयो। यस विषयमा सङ्घभित्र छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।

सङ्खुवासभामा चिनियाँ व्यापारीले किसानलाई क्लिप बेचेर रुद्राक्ष चेप्टाउन लगाएर प्राकृतिक स्वरुप परिवर्तन गरिँदैआएको हो। यसरी रुद्राक्षको आकार र स्वरुप बिगार्दा रुद्राक्षको बजार बिग्रने भएकोले यस्तो कार्य गर्न नहुने रुद्राक्ष व्यवसायी सन्तोष कुलुङले बताउनुभयो। चिनियाँले भिœयाएको ‘क्लिप' का कारण रुद्राक्षको बजारमा चुनौती बढ्दैगएको कुलुङको भनाइ छ। रुद्राक्षको आकार तथा बनावट बिगार्दा विशेष गरी मुखदार दानाको बजारलाई असर गर्ने अध्यक्ष बिसुङ्केले बताउनुभयो।

पञ्चमुखे रुद्राक्ष चिनियाँ व्यापारीले खरिद गरे पनि मुखदार रुद्राक्ष भारततर्फ निकासी हँुदैआएको छ। केही वर्ष अघिदेखि नेपाली रुद्राक्षमा कृत्रिम प्रविधि प्रयोग गरेको खबर आएपछि अहिले मुखदार रुद्राक्षका व्यापारीले नकरात्मक प्रतिक्रिया दिन थालेको रुद्राक्ष व्यवसायीले बताएका छन्। मुखदार रुद्राक्ष जति भारत जाने हो, उनीहरूले नकिने यसको बजार तहसनहस हुन्छ, रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष बिसुङ्केले भन्नुभयो।

रुद्राक्षलाई औजार प्रयोग गरी आकार परिवर्तन गरेपछि अन्य कृषकलाई चुनौती बढेको रुद्राक्ष व्यवसायी तथा पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताउनुभयो। केही चलाख कृषकले मात्र क्लिप पाउने र अन्य साधारण कृषकको पहुँचमा औजार नभएपछि त्यस्ता कृषकको रुद्राक्ष बिक्री हुन समस्या हुने राईले बताउनुभयो।

छोटो समयकै लागि भए पनि क्लिप किन्न सक्नेले चेप्ट्याएको दाना बेच्ला, नसक्नेको रुद्राक्ष त्यसै खेर जान्छ, प्रमुख राईले भन्नुभयो। रुद्राक्षको कृत्रिम स्वरुपले केही समयलाई राम्रो भए पनि यसको दीर्घकालीन असर पुग्ने राईले बताउनुभयो। रुद्राक्षको स्वरुप परिवर्तन गर्ने ‘क्लिप' को मूल्य प्रतिगोटा पाँच सय रुपियाँसम्म पर्ने बताइएको छ।

रुद्राक्षका केही व्यवसायी भने स्वरुप बिगार्ने पक्षमा पनि देखिएका छन्। ‘क्लिप' प्रयोग गर्दा राम्रो उत्पादन हुने भएकोले राम्रै मूल्य पाइने उनीहरूको तर्क छ। यद्यपि जिल्लामा छिटफुट बाहेकका रुद्राक्ष व्यवसायी स्वरुप नबिगार्ने पक्षमा छन्। पाँचमुखे रुद्राक्ष चिनियाँले किन्ने गरेका छन् भने मुखदार रुद्राक्ष भारतीयले खरिद गर्दैआएका छन्। सङ्खुवासभामा रुद्राक्षको करोडौँ रुपियाँको कारोबार हुँदैआएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान