नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

प्रहरी र सशस्त्रमा एआईजी संख्या घटाइने

2018-06-09 15:47:36

नेपालको गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ठूलो मात्रामा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को संख्या कटौती गर्ने भएको छ। एआईजीको संख्या घटाएर नेपाल प्रहरीमा १६ बाट ५ र सशस्त्रमा ९ बाट २ जना कायम गरिने भएको कान्तिपुर अनलाइनले लेखेको छ।

स्रोतका अनुसार गृह मन्त्रालयले दुवै संगठनको नियमावली संशोधन गरी नेपाल प्रहरीमा प्राविधिकसहित पाँच र सशस्त्र प्रहरीमा दुई एआईजी राख्ने प्रस्ताव मन्त्रिपरिषद् पठाउने गृहकार्य गरेको छ। यसअघि आवश्यकताभन्दा पनि राजनीतिक र व्यक्तिगत स्वार्थमा परी सरकारले हचुवाका भरमा एआईजीको संख्या बढाउँदै लगेको थियो। गृहमन्त्री जनार्दन शर्माका पालामा २०७४ असार २६ गते बसेको मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी सातबाट बढाएर ११ पुर्‍याएको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिनाविभागीय बनाएर गृहमन्त्रालय सम्हालेपछि एआईजीको संख्या फेरि बढाउनु भएको थियो। तत्कालीन प्रधानमन्त्री देउवाले नेपाल प्रहरीमा थप चार एआईजी संख्या थपेर १५ पुर्‍याउनु भएको थियो। यससँगै प्राविधिकसमेत गरी नेपाल प्रहरीमा एआईजीको दरबन्दी १६ पुगेको थियो। माघ १५ मा बसेको मन्त्रिपरिषदले भने सशस्त्र प्रहरी बलमा पाँच एआईजी थप गरेर नौ पुर्‍याएको थियो। त्यसलगत्तै आवश्यक छलफल र तयारीबिनै थपिएका एआईजीको व्यवस्थापन जटिलताले किचलो उत्पन्न भएको छ।

थपिएका एआईजीको व्यवस्थापन गर्न प्रहरी र सशस्त्र प्रहरीले विकास क्षेत्रस्तरको आफ्नो संरचनालाई प्रदेशको स्वरूपमा ढालेर थपिएका एआईजीलाई प्रदेशको सुरक्षा कमान्ड गर्ने जिम्मेवारी सुम्पियो। प्रदेश सरकारको गृह प्रशासनको नेतृत्व प्रथम श्रेणीको सहसचिवको नेतृत्वमा हुने र सहसचिवले विशिष्ठ श्रेणीको एआईजीलाई निर्देशन दिन व्यावहारिक कठिनाइ हुने भएपछि माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एआईजीहरूलाई फाजिलमा राख्ने निर्णय गरेको थियो। एआईजीको दरबन्दी कति रहने भन्ने विवाद टुंगो लाग्न नसक्दा लामो समयदेखि एआईजीको संख्या बढाउन चलखेल भइरहेको थियो।

तीन डीआईजीले अनिवार्य अवकाश र आईजीपीका प्रत्याशी डीआईजी रमेश खरेलले राजीनामा दिएपछि नेपाल प्रहरीमा दस डीआईजी एआईजीका प्रत्याशी छन्। २०७४ असारमा डीआईजी बनेका मध्येबाट पाँच जना एआईजी बन्नेछन्। डीआईजी पुष्कर कार्की, मनोज न्यौपाने, ठुले राई, धिरु बस्न्यात, सुरेशविक्रम शाह, उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द एआईजी प्रतिस्पर्धामा छन्।

स्रोतका अनुसार दुई एआईजी प्रहरी प्रधान कार्यालयमा रहने, एक महानगरीय प्रहरी कार्यालयमा रहने र एक प्रहरी एकेडेमी र एक प्रहरी अस्पतालमा रहने गरी एआईजीको दरबन्दी पाँच रहने टुंगोमा गृह पुगेको हो। सशस्त्र प्रहरीमा भने दुई एआईजी हेडक्वार्टरमा रहने व्यवस्था गरिएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान