नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालद्वारा चीनसँग 'क्रस बोर्डर ट्रान्समिसन लाइन' सम्झौताको तयारी

2018-04-16 16:48:06 CRI

विद्युत् आयातमा भारतसँग मात्र भर पर्दै अाएकाे नेपालले उत्तरी छिमेकी चीनसँग 'क्रस बोर्डर ट्रान्समिसन लाइन' निर्माण सम्झौताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यो विषय प्रस्ताव लैजान अध्ययन भइरहेको उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बताउनुभयो। मन्त्रालयले चीनको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' अन्तर्गत रहेर 'क्रस बोर्डर ट्रान्समिसन लाइन' सम्झौताको तयारी गरेको नेपालखबर अनलाइनले जनाएको छ।

'प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा रेलसहित कनेक्टिभिटीका कुराहरु उठ्न सक्छन्', आइतबार उर्जा मन्त्रालयमा सीमित सञ्चारकर्मीसँग मन्त्री पुनले भन्नुभयो, 'बेल्ट एन्ड रोड एनिसिएटिभ अन्तर्गत रहेर चीनसँग के के योजनामा काम सकिन्छ भनेर अध्ययन गर्दैछौं। क्रस बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच हुने सम्झौतामा पनि तयारी भइरहेको छ।'

विद्युत् आयात-निर्यातका लागि चीनसँग गरिने 'क्रस-बोर्डर ट्रान्समिसन लाइन'काे समझदारीपत्र (एमओयू)को मस्यौदा यसअघि नै उर्जा मन्त्रालयले कुटनीतिक च्यानलमार्फत् चीन सरकालाइ पठाइसकेको छ। उर्जा मन्त्रालयले चीन सरकारलाई पठाएको प्रस्तावमा चार नाकाबाट नेपाल-चीनबीच क्रस-बोर्डर ट्रान्समिसन लाइन निर्माण गरिने उल्लेख छ। उर्जाको मस्यौदाअनुसार रसुवागढी-केरुङ, तातोपानी-खासा, कोराला-तिब्बत र किमाथान्का-चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गरिनेछन्।

चारवटा अन्तरदेशीय प्रसारण लाइनबाहेक नेपालभित्र पनि ४०० वा २२० केभी क्षमताका ट्रान्समिसन लाइनको विकास गर्ने एमओयूको मस्यौदामा उल्लेख छ। उर्जामन्त्री पुनले आइतबार सञ्चारकर्मीबीच भन्नुभयो, 'हामी छिटै चीन र बंगलादेशसँग पनि पिटीए गरेर अघि बढ्दैछौं।'

अहिले नेपालको लोडसेडिङ अन्त्य हुनुमा भारतबाट आयात हुने विद्युतको भर रहेको छ। चीनसँग प्रसारण लाइन निर्माण सम्झौता भए भारतसँगको एकल निर्भरता अन्त्य हुनेछ। मन्त्रालयकाअनुसार अहिले नेपालले भारतबाट ४७० मेगावाट विद्युत आयात गरिरहेको छ। हाल साँझको समयमा विद्युतको माग १ हजार ३ सय ८० मेगावाट हुन्छ। मुलुकमा विद्युत आयोजनाहरूको कुल जडित क्षमता ९ सय ५० मेगावाट हाराहारीमा मात्रै छ। भारतबाट आयात गर्दा समेत मुलुकको पिक आवरका लागि ३ सय ३० मेगावाट विद्युत अपुग छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी १५ बुँदे संयुक्त विज्ञप्तिमा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख थियो। सोही बमोजिम नेपालले अफ्नो प्रक्रिया अघि बढाएको हो।

यसैबीच अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि प्रदान गरेको ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) मध्ये उर्जाका लागि छुट्याइएको रकमले भारतको गोरखपुरसम्म जोड्ने अन्तरदेशीय लाइन निर्माण गर्न लागिएको मन्त्री पुनले जानकारी दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान