तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल-चीन केरूङ नाका जोड्ने बाटोको काम सम्पन्न

2018-04-16 16:47:01 CRI

साढे २ वर्षअघि भारतीय नाकाबन्दीका बेला केही थान ट्यांकर चिनियाँ अनुदानको पेट्रोल बोकेर रसुवागढी हुँदै नेपाल छिरेका थिए। ३५ भन्दा बढी घुम्ती र ठाउँठाउँमा आउने पहिरो छिचोल्नुपर्ने सडकको विकल्पमा त्रिशुलीको किनारैकिनार बाटो बनाउने जिम्मा नेपाली सेनालाई दिइएकोमा अब भने उकालो र घुम्तीहरू पार नगरीकनै चीन पुग्न सकिने भएको छ।

काठमाडौंलाई चिनियाँ नाकासँग जोड्ने सबैभन्दा छोटो बाटोको ट्रयाक खुलेको छ। नेपाली सेनाले चैत ३० गते रसुवाको मैलुङ-स्याप्रुवेशी सडकको ट्रयाक खोलेको हो। १७ किलोमिटर ट्रयाक खुलेसँगै काठमाडौंबाट रसुवागढी झन्डै २५ किलोमिटर छोटो भएको छ। मैलुङ-स्याप्रुवेशी सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी सञ्जय केसीका अनुसार दुई हप्तापछि सो बाटो सडक विभागलाई हस्तान्तरण गरिनेछ। बर्खाबाहेक अन्य समयमा सबै किसिमका गाडी चलाउन मिल्नेगरी ट्रयाक तयार भएको छ।

सडक स्यापु्रवेशीदेखि मैलुङसम्म त्रिशुलीको बायाँ किनारा हुँदै आउँछ। मैलुङमा १३० मिटर लामो बेलिब्रिज हालिएको छ। मैलुङदेखि तल त्रिशुलीको दायाँ किनारामा सडक बनाइको छ। सडक विभागले सेनाले बाटो जिम्मा दिएको दिनदेखि नै जति सक्यो छिटो सडकमा गाडी कुदाउने गरी काम भइरहेको जनाएको छ। गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ-स्याप्रुवेशी-रसुवागढी सडक आयोजनाका प्रमुख सुवोध देवकोटाले सेनाले ट्रयाक खोलेको बाटोको सर्भे र डिपिआरको काम भइरहेको बताउनुभयो।

देवकोटाले २ वर्षभित्र मैलुङ-स्याप्रुवेशी सडक कालोपत्रे गरीसक्ने विभागको योजना रहेको सुनाउनुभयो। विभागले धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर बाटो २ लेन बनाउने काम पनि थालिसकेको छ। गल्छी-बेत्रावती सडकको दुई लेनको काम अहिले भइरहेको छ।

पासाङल्ह्यामु राजमार्गको बेत्रावती-धुन्चे -स्याप्रुवेशी खण्ड ५४ किलोमिटर छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान