नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

तातोपानी नाका खोल्न सुरक्षा प्रत्याभूति दिनुपर्नेः चीनका लागि नेपाली राजदूत

2018-01-13 13:22:32

तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ। सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ। गोरखा भूकम्पका कारण नेपाल चीन सीमाको खासासमेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका कारण नाका सञ्चालनमा ल्याउन थप समय लागेको चिनियाँ पक्षले जानकारी गराएको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले जानकारी दिनुभयो।

गोरखा भूकम्पको ३४ महिना पुग्न लाग्दा समेत नेपाल र चीन जोड्ने ऐतिहासिक कोदारी सञ्चालनमा आउन नसकेकामा नेपालीको चासो र चिन्ता बढिरहेको बेला राजदूत पौड्यालले चीनको न्यालमबाट खासा खण्डको सडक मर्मतमा चीन सरकारले विशेष जोड दिइरहेको र युद्धस्तरमा काम गरिरहेको जानकारी आफूले पाएकाले नेपालतर्फ पनि आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो।

गोरखापत्र अनलाइनका अनुसार जुरे पहिरो, भोटेकोशीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल गत बर्खाकालमा बगाएका कारण नेपाल चीन सीमासम्म पुग्ने अवस्था नभएकाले आफ्नातर्फको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति' विषयको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौड्यालले भन्नुभयो 'तातोपानी नाका खोल्न र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपति सि चिन फिङले नै चासो व्यक्त गर्नुभएको छ। नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणमा समेत पटक पटक सो विषयमा कुरा उठेको छ।'



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान