नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

मतदान केन्द्रमा सबै कर्मचारी महिला

2017-12-07 19:49:49

नेपालमा आज भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन्। निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

नगरपालिका (क) केन्द्रमा मतदान अधिकृत नमूना निरौला दाहाल र (ख) केन्द्रमा सुनिता आचार्यसहितका महिला कर्मचारीले मतदान गराउँदैछन्। त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा रहेको मेची रंगशालाको (क) र (ख) केन्द्रमा पनि महिला कर्मचारीले मतदान गराउँदैछन्। (क) केन्द्रमा मतदान अधिकृत गीताकुमार राई र (ख) केन्द्रमा अम्बिका श्रेष्ठ मतदान अधिकृत तोकिएको प्रमुख निर्वाचन अधिकृत खिलाराज रेग्मीले जानकारी दिनुभयो।

क्षेत्र नं ५ को दमक नगरपालिका केन्द्रमा भने जमुना कार्कीको टोलीले मतदान गराउँदैछ। झापामा पाँच हजार ५३६ कर्मचारी र दुई हजार ६४ स्वयंसेवक गरी सात हजार ६०० कर्मचारी निर्वाचनका लागि खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यसैगरी इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। इलाम नगरपालिका-४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान