नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

'अति संवेदनशील' निर्वाचन सामग्री चीनबाट आयात

2017-11-14 15:15:24

'अति संवेदनशील' निर्वाचन सामग्री चीनबाट आयात

निर्वाचन आयोगले यसपटक 'अति संवेदनशील' निर्वाचन सामग्री चीनबाट आयात गरेको छ। अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि आयोगले भारतबाट ल्याउने गरेको थियो भने अन्य दाताबाट समेत सहयोग लिने गरेको थियो।

समय अभाव भएको भन्दै अन्य दाता पन्छिएपछि आयोगले स्वस्तिक छापबाहेकका सबै सामान चीनबाट भित्र्याएको हो। स्वस्तिक छाप भने आयोगले भारतबाटै ल्याएको छ। मतपत्र, मतदाता नामावली, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसी, स्ट्याम्प प्याड र सुरक्षणलगायत सामग्रीलाई आयोगले अति संवेदनशील सूचीमा राखेको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

यसअघि निर्वाचनमा सहयोग गरेका भारत, चीन, जाइका, यूएनडीपीलगायतले समय अभावका कारण सहयोग गर्न नसकेको आयोगले जनाएको छ। सहयोग गर्न चाहने देशले टेन्डर गरेर सामान पठाउन ६ महिना लाग्ने भएकाले सहयोग लिन नसकिएको आयोग प्रवक्ता नवराज ढकालले बताउनुभयो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ६७ प्रकारका निर्वाचन सामग्री किन्न करिब चार अर्ब रूपैयाँ खर्च गर्दै छ। स्थानीय निर्वाचनमा प्रयोग नभएका कतिपय सामानसमेत आयोगले यसपटक प्रयोग गर्न लागेको ढकालले जानकारी दिनुभयो। स्थानीय निर्वाचनमा चार अर्ब रुपैयाँको सामग्री किनिएको थियो।

निर्वाचनमा प्रयोग हुने अधिकांश सामग्री टेन्डर प्रक्रियामार्फत निजी क्षेत्रबाट खरिद गर्ने गरिएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कुल १९ हजार आठ सय नौ वटा मतदान केन्द्र छन्। एउटा केन्द्रमा तीनवटा मतपेटिका रहन्छन्। औंलामा रेजा लगाउने नमेटिने तीन थान मसी केन्द्रमा पठाइनेछ। सानो बाकसमा पाँच र ठूलो बाकसमा सात स्थानमा सुरक्षण सिल लगाउने व्यवस्था आयोगले गरेको छ । यसमा आवश्यक लाहा भने भारतबाट ल्याइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान