नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

प्रत्येक स्थानीय तहमा ऊर्जा उत्पादन योजना

2017-10-11 17:55:06 CRI

राष्ट्रिय योजना आयोगले प्रत्येक स्थानीय निकायमा ऊर्जा उत्पादन गर्ने योजना अघि सारेको छ। सन् २०३० भित्र सबैलाई ऊर्जा पुर्याउने सहश्राब्दी विकास लक्ष्य पूरा गर्न र ऊर्जा संकटलाई न्यूनीकरण गर्ने उद्देश्यले ७ सय ५३ स्थानीय निकायमै ऊर्जा उत्पादन गर्ने योजना अघि सारेको हो। यसअघि पहिचान भइसकेका जलविद्युत् आयोजनाहरूबाहेक ५ वर्षभित्र करिब ४ सय मेगावाट बराबरका ऊर्जा उत्पादनका आयोजनाहरू अघि बढाउने जनाएको छ।

५ सय किलोवाटदेखि एक मेगावाटसम्मका ऊर्जा उत्पादनका आयोजनाहरू अघि बढाउने लक्ष्यसहित अध्ययन अघि बढेको आयोगका सदस्य डा. अरविन्दकुमार मिश्रले जानकारी दिए। उनका अनुसार हिमाल, पहाड र तराईका स्थानीय निकायमा क्षेत्र अनुसार प्राकृतिक स्रोतहरू जलविद्युत्, सोलार (सौर्य ऊर्जा), वायु र बायोमासका उपयुक्त प्रविधि छनोट गरी योजना अघि बढाउनका लागि आयोग र नेपाल विद्युत् प्राधिकरणको सहायक इन्जिनियरिङ परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ। सम्झौता अनुसार प्राधिकरणले तीन महिनाभित्र प्रत्येक स्थानीय निकायमा उपयुक्त हुने ऊर्जाको स्रोत, त्यसको क्षमता, ग्रीड कनेक्सन हुने क्षेत्र र नहुने क्षेत्रमा कसरी गर्ने स्पष्ट खाका र लागतको व्यवस्थापन लगायतबारे इन्जिनियरिङ कम्पनीले प्रतिवेदन बुझाउनेछन्।

प्रतिवेदनको आधारमा प्रत्येक स्थानीय निकायमा ऊर्जा उत्पादनका आयोजनाहरू अघि बढाउनका लागि आयोग, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अधिकारीहरू बसेर स्पष्ट कार्यान्वयन कार्यविधि बनाई दातृ निकायहरूको समेत सहयोगमा अघि बढाइने आयोगले जनाएको छ। स्थानीय निकायले कम लागत र केन्द्रबाट बढी अनुदान दिई अघि बढाइने योजनाहरू सम्पन्न भएपछि स्थानीय निकायलाई नै हस्तान्तरण गरिने आयोगले जनाएको छ।

पहाड र हिमालमा जलविद्युत्, सोलार र वायु तथा तराईमा सोलार, वायु र वायोमासमार्फत ऊर्जा उत्पादनको सम्भावना रहेकोले आयोगले चार ऊर्जा प्रविधिलाई समेटेर योजना बनाएको जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान