तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

2017-07-17 15:53:49 CRI

नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी छ। देउवाको भारत भ्रमणअघि नै महरा चीन जाने गरी तिथि मिलाउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए। 'उपप्रधान तथा परराष्ट्रमन्त्रीको चीन भ्रमणपछि नै प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी छलफल र तयारी अघि बढेको छ, निर्णय भने भएको छैन,' उपप्रधान तथा परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव युवराज चौलागाईले भन्नुभयो, 'मिति मात्र नभएर एजेन्डाका विषयमा समेत अन्तरमन्त्रालय छलफल अघि बढाइएको छ।'

यसअघि परराष्ट्रमन्त्री महरा तीनदिने दिल्ली भ्रमण सकेर असार 20 गते फर्किनु भएको थियो। उहाँले दुईपक्षीय छलफलमा प्रधानमन्त्री देउवाको भ्रमण र दुईपक्षीय आयोजना तथा सहकार्यका विषयमा छलफल गर्नुभएको थियो। त्यतिबेला समकक्षी सुष्मा स्वराजबाहेक अन्य नेतासँग महराको भेटघाट भएन। उहाँ फर्केको दुई सातामै प्रधानमन्त्री देउवा भारत जाने भनिए पनि भारतमा राष्ट्रपति निर्वाचनको चटारोले हुन सकेन। भारतले नयाँ राष्ट्रपति पाएलगत्तै देउवा भारत जानुहुनेछ।

प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्ता दिनु भएको थियो। विमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन एक महिनापछि स्वराज नेपाल आउने र त्यसलगत्तै देउवा दिल्ली जाने गरी तयारी अघि बढेको अधिकारीहरु बताउँछन्। 'तिथिबारे छलफल भइरहेको होला, यसमा अपडेट हुन पाएको छैन तर भ्रमण हुने विषय आइरहेकै छ,' प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले अहिले नै भ्रमणको विषयमा बोल्न नसक्ने बताउदै भन्नुभयो, 'सम्बन्ध विस्तारका लागि उच्चस्तरको राजनीतिक भ्रमण नराम्रो विषय होइन।'

देउवाको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री मोदी, बिहारका मुख्यमन्त्री नीतिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत छलफल भइरहेको छ। देउवाको भ्रमणका विषयमा भारतीय दूतावास र परराष्ट्र अधिकारीहरुबीच लगातार छलफल भइरहे पनि तिथि टुंगो लागेको छैन। पुरानो तयारीअनुसार अर्को साता प्रधानमन्त्री भारत पुग्नुपर्ने थियो। तर, राष्ट्रपति निर्वाचनका कारण त्यो तिथि सरेको हो। उहाँ अब तेस्रो चरणको निर्वाचनअघि भारत जानुहुनेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान