तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

बायोमास बिजुली उत्पादन गर्न चिनियाँ कम्पनी इच्छुक

2017-06-19 17:15:17

बायोमास बिजुली उत्पादन गर्न चिनियाँ कम्पनी इच्छुक

ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा सरकारले पछिल्लो दिन बायोमासमा पनि प्राथमिकताका साथ लगानी गर्ने घोषणा गरेपछि दुईवटा कम्पनीले लगानीका लागि चासो देखाएका छन्।

सौर्य, वायु जस्तै पाखापखेरामा खेर गइरहेको घाँस, पराल, वनका पात पतिङ्गरलाई ऊर्जाको स्रोतका रुपमा प्रयोग गर्ने लक्ष्यका साथ ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागमा आवेदन दर्ता भएको छ।

वायु र सौर्य ऊर्जामा जस्तै बायोमासमा पनि लगानीकर्ताले अभिरुचि देखाउनु सकारात्मक रहेको ऊर्जा मन्त्रालयको बुझाइ रहेको राष्ट्रिय समाचार समितीले लेखेको छ।

सरकारले २०७२ साल फागुन ६ गते जारी गरेको ऊर्जा सङ्कटकाल कार्ययोजनामा ऊर्जाका फरक स्रोतको उपयोगमा जोड दिने लक्ष्य निर्धारण गरिएको छ। विभागमा बायोमासको सर्वेक्षणको अनुमतिका लागि मात्रै दुई कम्पनीले आवेदन दिएको सिडिई बाबुराज अधिकारीले जानकारी दिए। गोल्ड रस कम्पनीले कास्कीमा ७.९ मेगावाट क्षमताको आयोजना अगाडि बढाउने अनुमति माग गर्दै आवेदन दिएको छ।

विभागकाअनुसार १८ मेगावाट क्षमताको बायोमास उत्पादन गर्ने लक्ष्यका साथ चिनियाँ कम्पनी क्वानचौ डेभोटिन थर्मल टेक्नोलोजीले आवेदन दिएको छ। सो कम्पनीले मकवानपुरमा करिब ३० स्थानबाट बायोमास सङ्कलन गरी ऊर्जा उत्पादन गर्ने जनाएको छ।

पेट्रोलियम तथा कोइलाको प्रयोगबाट उत्पादन गरिने ऊर्जाका कारण कार्बन उत्सर्जनमा वृद्धि हुँदा विश्वमा तापमानसमेत बढेको सन्दर्भमा पाखापखेरामा खेर जाने घाँस तथा प्राकृतिक उपजलाई ऊर्जाको स्रोतका रुपमा प्रयोग गर्ने प्रविधिको प्रयोगमा नेपालमा समेत चासो बढेको हो।

भारतमा वार्षिक रुपमा ५०० मिलियन टन बायोमास उत्पादन हुने गरेको छ। इन्डिया रिन्युएबल इनर्जीका अनुसार बायोमासबाट छोटो समयमै १८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य भारतले राखेको छ।

त्यसै गरी चीन सरकारले पछिल्ला दिनमा बायोमासबाट ऊर्जा उत्पादन गर्ने कार्यलाई दीर्घकालीन लक्ष्यका रुपमा अगाडि बढाएको छ। सन् २०१० मा ५.५ गिगावाट आवर ऊर्जा बायोमासबाट उत्पादन गरेको चीनले आगामी दश वर्षमा २४.५ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने र सन् २०३० सम्म ७०० वटा बायोमास पावर प्लान्ट जडान गरी ३० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान