तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

हेवा खोला 'ए' को विद्युत्‌गृह उद्घाटन

2017-02-17 13:47:18

नवनिर्मित 15 मेगावाट क्षमताको हेवाखोला 'ए' जलविद्युत् आयोजनाको विद्युत्‌गृह उद्घाटन भएको छ। पाँचथर पावर कम्पनीले बनाएको जलविद्युत् विद्युत्‌गृहको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

कम्पनीले 2 अर्ब 60 करोड रुपैयाँ लगानीमा उक्त जलविद्युत् निर्माण गर्न लागेको हो। ऊर्जामन्त्री जनार्दन शर्माले झापादेखि इलाम, पाँचथर हुँदै अमरपुरसम्म निर्माणाधीन 132 केभी काबेली करिडोर आयोजना आगामी असारभित्र निर्माण पूरा गर्न ठेकेदार जग्वर एन्ड एस्तर कम्पनी र विद्युत् प्राधिकरण काबेली करिडोर आयोजनालाई निर्देशन दिनु भएको छ।

पाँचथरमा 21 मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना, 37 मेगावाटको काबेली ए जलविद्युत् आयोजना र 25 मेगावाटको काबेली बी 1 जलविद्युत् आयोजना, 10 मेगावाटको राइराङ हाइड्रोपावरलगायत 120 मेगावाटको विद्युत् आयोजना सञ्चालनमा रहेकाले काबेली करिडोर आयोजना पूरा गर्न सरकारले प्राधिकरणलाई निर्देशन दिइसकेको छ।

जलविद्युत् उद्घाटन गर्न आएका प्रधानमन्त्री दाहालले प्रकृतिले दिएको उपहार जलस्रोत नेपालको समृद्धिको माध्यम भएको बताउनु भएको छ। उहाँले देशभर खेर गइरहेको जलस्रोतबाट विद्युत् उत्पादन गरेर मुलुकलाई ऊर्जा संकटमुक्त गर्ने सरकारको योजना रहेको बताउनभुयो। प्रधानमन्त्री दाहालले बगेर खेर गइरहेका नदी र सानाठूला खोलानालाबाट जलविद्युत् आयोजना सञ्चालन गरी युवाहरूलाई रोजगारी सिर्जना गर्ने रणनीति तयार गर्न लागेको बताउनुभयो। 'मुलुकको विकासको प्रमुख आधार नै विद्युत् शक्ति हो, सरकारले ऋण खोजेर भए पनि लगानी गर्छ,' उहाँले भन्नुभयो, 'सरकारले जलविद्युत् उत्पादनमा सर्वसाधारणलाई सेयर लगानी सुनिश्चित गर्छ।'

सरकारले ठूल्ठूला नदीहरूबाट जलाशययुक्त आयोजना सञ्चालन गर्न विस्तृत सर्वेक्षण, सम्भाव्यता अध्यायनलगायत कार्य सुरु गरिसकेको प्रधानमन्त्रीले बताउनुभयो। पूर्वमा तमोर, अरुण, बुढीगण्डकी, कर्णालीलगायत ठूला नदीहरूबाट विद्युत् उत्पादन गर्न सर्वसाधारण नेपाली नागरिक र विभिन्न क्षेत्रबाट ऋण संकलन गरेर भए पनि आयोजनाहरू सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो। त्यसैगरी, उहाँले पाँचथर र तेह्रथुमको सिमाना तमोर नदीमा उच्च बाँध निर्माण गरी जलाशयुक्त जलविद्युत् आयोजना सञ्चालन गर्न ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिसकेको जानकारी दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान