नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

15 वर्षे बृहत् गुरुयोजना बनाउँदै पशुपति कोष

2017-02-17 13:46:31

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको बृहत्तर विकासका लागि पन्ध्रबर्से बृहत् गुरुयोजना बनाउने भएको छ। कोषले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूबाट बृहत् गुरुयोजना बनाउने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ठेक्कामार्फत काम गर्ने योजना बनाउन लागेको अन्नपूर्णपोष्ट पत्रिकाले लेखेको छ।

कोषले बृहत् गुरुयोजना बनाउन पशुपतिनाथ क्षेत्रको इतिहास, पुरातत्व एवं सम्पदा विषयमा मुकुन्द अर्याल, निना मिर्निङ, रोबिन कनिङहम, कोषराज आचार्य, दिनेशराज पन्त, शुक्रसागर श्रेष्ठलाई कार्यपत्र बनाउने जिम्मा दिएको छ। प्राकृतिक धरातल र भवन निर्माणसम्बन्धी कार्यपत्र नेइल्स गुट्सचोउ, मूर्ति पन्त, सुदर्शनराज तिवारी, राजन दाहाल, इयान सिम्प्सन र उदयराज शर्माले तयार गर्नुहुनेछ।

मानवशास्त्र अन्तर्गतका समुदाय, रीतिरिवाज र चाडपर्वबारे चेतनाथ गौतम, गोविन्द टण्डन, एक्सेल मिखाइल्स, रूद्र मिश्र र राजेन्द्र सुवालले कार्यपत्र तयार पारिरहनु भएको छ। यस्तै सम्पदा र योजनाअन्तर्गत विश्वसम्पदा एवं तिनको योजना तथा संरक्षणबारे किशोर थापा, वीरेश साह, राजनसिंह साह, रविरत्न तुलाधर, भेषनारायण दाहाल, भीम नेपाल, केई वाइज र भरत मरासिनीले कार्यपत्र तयार पार्नुहुनेछ।

उल्लिखित सबै कार्यपत्र तयार पारी आगामी असारभित्र कार्यशालामा प्रस्तुत गरी विद्वान्‌बाटै टिप्पणी गरेर अन्तिम रूप दिइने कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले जानकारी दिनुभयो। पशुपति स्मारक क्षेत्रलाई सन् 1979 मा काठमाडौं उपत्यका विश्व सम्पदा स्थलका रूपमा युनेस्कोले सूचीकृत गरेको थियो। उक्त क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा 2055 सालमा राजपत्रमा दर्ता गरिएको थियो। सोहीअनुरूप 2044 सालमा कोषका उद्देश्य प्राप्त गर्न अवधारणात्मक गुरुयोजना बनेको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान