तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौं जोड्ने रेलको सम्भाब्यता अध्ययनमा चीनलाई नेपालको अनुरोध

2017-02-17 13:45:46

सन् 2020 सम्म नेपालको सीमा नजिकै केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म जोड्नको लागि सम्भाब्यता अध्ययन (फिजिबिलिटि सर्वे) गर्न नेपालले चीनको सहयोग लिने तयारी थालेको छ। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले चीन सरकारकै लगानीमा सर्वे गर्ने गरी समन्वय गरिरहेको नेपाल खबर अनलाइनले लेखेको छ।

रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले अर्थ मन्त्रालय र चिनियाँ अधिकारीबीच चीन सरकारको सहयोगमा सर्वे गराउने गरी छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'यस विषयमा कुराकानी भइरहेको छ। प्रस्ताव गइसकेको छ।'

रेल विभागले केही चिनियाँ कम्पनीहरुले सर्वेका लागि प्रस्तावसहित भौतिक पूर्वधार तथा यातयात मन्त्रलायमा पुष महिनामा नै फाइल पठाएको थियो। सो फाइल भौतिक मन्त्रालयले अर्थ मन्त्रालय पठाएपछि अर्थ मन्त्रालयका अधिकारीले चिनियाँ अधिकारीसँग समन्वय थालेका छन्।

भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता सहसचिव भीमार्जुन अधिकारीले सर्वे गर्न प्रस्ताव ल्याउने अरु पनि चिनियाँ कम्पनी आएको जनाउदै भन्नुभयो, 'अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले चीन सरकारका अधिकारीसँग छलफल अगाडि बढाइरहेको छ।'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत पुषमा दुई महिनाभित्र सर्वे थाल्न रेल विभागका महानिर्देशक अनन्त आर्चायलाई निर्देशन दिनु भएको थियो। प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार अर्थमन्त्री कृष्णबहादुर महराले चीन सरकारको सहयोगमा रेलको सम्भाब्यता अध्ययन प्रक्रिया अगाडि बढाउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिनु भएको हो।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव बैकुण्ठ अर्यालले केही हप्ताभित्र नै चिनियाँ अधिकारीसँग सहमतिमा पुग्न सकिने जनाउनुभयो। 'हामीले अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौं। यसको परिणाम सकारात्मक हुनेछ तर ठोस प्रगति नै नभइकन सबै कुरा सार्वजनकि गर्न मिल्दैन' उहाँले भन्नुभयो, 'चिनियाँ अधिकारीहरुले सहमति नभइ सार्वजनिक नगरौँ भन्ने अनुरोध गरेका छन्।'

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान