नेपाली भाषा

यान च

   

चीनको इतिहासमा सबैभन्दा राम्रो ऐतिहासिक पुस्तक"श ची"मा लेखकले एकजना चलाख र बहादुर कुटनीतिज्ञका बारेमा उल्लेख गरेका थिए। ती बहादुर कुटनीतिज्ञ इसा पूर्व छैटौं शताब्दीमा चीनको छी राज्यका यान च हुन। यान च सम्बन्धी धेरै कथा चीनमा व्यापक रुपमा प्रचलित छन। अब म यान चले छु राज्यको भ्रमण गरेको सम्बन्धी कथा सुनाउँछु।

एक दिन यान च छु राज्यको भ्रमणमा गए। छु राज्यका सम्राटले यान च होचो भएको कुरा थाहा पाएपछि यान चलाई जिस्काउने विचार गरे। छु राज्यका सम्राटले शहरको ढोका नजिकै एउटा सानो ढोका बनाएर यान चलाई त्यस सानो ढोकाबाट भित्र आउन आदेश दिए।

यान चले त्यस अनुरोधलाई अस्विकार गरे। उनले भनेः "कुकुरको देशमा पुगेपछि मात्र कुकुर पस्ने प्वालबाट भित्र जानुपर्छ। म छु राज्यको भ्रमण गर्न आएको छु। मैले कुकुर पस्ने प्वालबाट भित्र जानुहुँदैन।"

यान चको स्वागतमा जुटेका छु राज्यका पदाधिकारीले उनको कुरा सुनेर वाध्य भएर उनलाई शहरको ढोकामा लगे। भित्र प्रवेश गरेपछि यान च छु राज्यका सम्राटसँग भेट्न गए। छु राज्यका सम्राटले सोधेः "तिम्रो राज्यमा तिमीबाहेक कोही पनि नभएकाले तिमीलाई पठाइएको हो?"

यान चले जवाफ दिएः "हाम्रो राज्यमा निकै धेरै मान्छे छन। राजधानीमा मात्रै सयौं सडक छन। त्यहाँका मानिसहरुले हात माथि उठाए भने सूर्यको किरणलाई छेक्नसक्छन। मानिसहरुले आफ्नो पसिना बगाए भने पानी परेको जस्तो देखिन्छ। सडकहरुमा मानिसहरुको भीड देखिन्छ। तपाईंले किन छी राज्यमा मानिस छैन भन्ने कुरा गर्नुभयो?"

छु राज्यका सम्राटले फेरि सोधेः "त्यसो भए किन तिमीलाई पठाइएको त?"

यान चले विस्तारै भनेः"हाम्रो छी राज्यमा दूत पठाउनु निकै जटिल कुरा हो। हाम्रो राज्यमा चलाख र क्षमतायुक्त दूतहरुलाई सद्गुण भएका राज्यमा पठाउने चलन छ भने मूर्ख र अयोग्य दूतहरुलाई अयोग्य राज्यहरुमा पठाउने चलन छ। म ती मूर्ख दूतहरुमध्येको सबैभन्दा मूर्ख र सबैभन्दा अयोग्य दूत हुँ। त्यसैले मलाई छु राज्यको भ्रमण गर्न पठाइएको हो।"यान चको कुरा सुनेर छु राज्यका पदाधिकारीहरु चूप लागे र लामो समयसम्म केही पनि बोल्न सकेनन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान