नेपाली भाषा

वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने कथा

   

अब थेन चि तथा सुन पिनले फौज लिएर चाओ राज्यलाई बचाउने गरेको प्रसंगतिर लागौं। सुन पिनले स्थितिको विश्लेषण गरेपछि के ठहर गरे भने वै राज्यको सेना शक्तिशाली रहेछ। यदि त्यससित अगाडीबाट लडेमा छि राज्यका लागि ठूलो क्षति हुनसक्दछ। त्यसैले शत्रुको मुख्य शक्तिलाई छलेर त्यसको कमजोर ठाउँबाट हमला गर्नु उचित हुन्छ। वै राज्यको मुख्य बलियो टुकडी बाहिर गई त्यसको राजधानी ता ल्याङमा रक्षक शक्ति कमजोर देखिएको अवसर पारी त्यसमाथि नै हमला गरेको खण्डमा वै राज्यको सेना बाध्य भई ता ल्याङलाई बचाउन फर्केर जानेछन र चाओ राज्यले स्वतः खतराबाट जोगिएर बस्नपाउने छ।

सुन पिनले रणनीतिक दृष्टिबाट अनुकूल स्थिति प्राप्त हुनसकोस भन्ने उद्देश्यले शत्रु सेनालाई छि राज्यको फौज दुर्बल रहेको भ्रमपूर्ण संकेत देखाउने निर्णय गरे। उनले जानी-जानी असक्षम सैनिक अधिकारीहरुलाई एउटा टुकडी लिएर सामरिक दृष्टिकोणबाट महत्वपूर्ण मानिने वै राज्यको फिङ लिन बस्तीमाथि जाइलाग्न पठाए। सो टुकडीले अति नराम्रोसँग हार खायो। वै राज्यका महारथी फाङ च्युआनले छि राज्यको फौज एकदम लुरो रहेछ भन्ठानेर चाओ राज्यमाथि आक्रमण गर्न अझ जोड गरे। छि राज्यको फौजले वै राज्यको राजधानी ता ल्याङमाथि हमला गर्लान् भन्ने उनको सोच पटक्कै थिएन।

यसै सिलसिलामा सुन पिन आफैले मुख्य र बलियो शक्ति लिएर सरासर गई वै राज्यको राजधानी ता ल्याङमाथि हमला गर्नथाले। फाङ च्युआनले यसको खबर पाउनासाथ पर रहेको राजधानीलाई जोगाउन भनी हत्तपत्त चाओ राज्यमाथि आक्रमण गरिरहेको अघिल्लो मोर्चाबाट सेना फिर्ता गरे। सैनिक तथा घोडा अति थकित भई सुन पिनको घेराबन्दीमा समेत पर्न गएपछि वै राज्यको सेनाको नराम्रो अन्त हुनु स्वाभाविकै थियो।

छि राज्यको फौजले शत्रु सेनाको खास शक्तिलाई छलेर त्यसको कमजोर ठाउँमाथि हमला गरेको र आरामसँग बसेर अति थाकेको शत्रु सेनासित लडाइँ गरेको हुनाले यसबाट चाओ राज्यलाई बचाउनुका साथै वै राज्यको वास्तविक शक्तिलाई पनि शिथिल पारिदियो। चीनको सैनिक मामिला सम्बन्धी इतिहासमा "वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने" यो प्रसिद्ध जंगी जुक्ति सिर्जना गरी पछिका पुस्ताका लागि दूरगामी प्रभाव छाडिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान