नेपाली भाषा

वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने कथा

   

राजा छि वै वाङले त्वान छेन क्वानको सुझाव स्वीकार गरी चाओ राज्यलाई जोगाउन महारथी थेन चि तथा सल्लाहकार सुन पिनको नेतृत्वमा असी हजार सैनिक खटाए।

निज सल्लाहकार सुन पिनको बाहाँजोरी सम्बन्धी योग्यता बारे एउटा घोडा-दौडको कथा चीनमा प्रचलित छ।

छि राज्यको कुलीन वर्गका माझ घोडा-दौडको खेल खूब लोकप्रिय थियो। महारथी थेन चिले धेरै पल्ट ठूलो रकम राखेर राजा तथा राजकुमारहरुसित घोडा-दौडमा बाजी थाप्ने गरेका थिए। तर त्यसमा उनले जित्नुभन्दा बढी हार खाए। सुन पिनले भित्रभित्रैबाट अवलोकन गर्दा के कुरा बुझे भने दुबै पक्षका घोडा उस्तै-उस्तै छन् र घोडालाई क, ख, ग तीन दर्जामा विभाजित गरी दौडाउने नियम पनि छ। यसरी सुन पिनले "अर्को खेल भएमा बढीभन्दा बढी रकम थाप्नुहोस्, हजूर अवश्य जित्नुहुन्छ" भनेर थेन चिलाई विश्वास दिलाए।

अर्को घोडदौडको खेल आयो। सुन पिनले थेन चिलाई भने--"राजाका क, ख, ग दर्जाका तीनवटा घोडासित खेल्न हजूरले क्रमशः आफ्ना ग, क, ख दर्जाका घोडा पठाउनुहोस्।" फलतः तीन फेरको खेल सकिएपछि थेन चिले एकका विरुद्ध दुइले विजय हासिल गरे। यसबाट सुन पिनको नाउँ पनि एकै चोटि चारैतिर फैलियो।

एकपल्ट राजा छि वै वाङले सैनिक मामिलाका सम्बन्धमा चर्चा गर्दा सुन पिनलाई सोधे--"दुइ पक्षका सेना मुखामुख हुने स्थितिमा ती दुबै पक्षको मोर्चा बलियो भएको र कसैले पनि कसैमाथि आक्रमण गर्न नचाहेको अवस्थामा के गर्नु बेस हुन्छ?"

सुन पिनले जवाफ दिए--"एकजना साहसिला र अनुभवी सैन्य-नायक छान्नुहोस्। उनलाई छिटो-छिटो दौड्नसक्ने केही सैनिकहरु लिएर अर्काको वास्तविक शक्ति बुझ्नका लागि अगाडीबाटै शत्रुसित जुध्न पठाउनुहोस्। त्यसमा शत्रुलाई भ्रमजालमा फसाउनका लागि उनले जित्नुहुँदैन, हार खानैपर्छ। यसका साथै केही अति बलिया योद्धाहरुलाई शत्रुको एकापट्टि लुकेर बस्न पठाउनुहोस्। उनीहरुले शत्रुको सामुन्ने पक्षमा गन्जागोल हुनासाथ एकापट्टिबाट हमला गरिहाल्नुपर्छ। यसो गरेमा जित्न नसक्ने कुरै छैन।"

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान