चीनको पूर्वी हान राजवंशकालमा राजधानी लो याङ तथा त्यसका आसपासका क्षेत्रमा बेला-बेलामा भूकम्प भइरहन्थ्यो। ऐतिहासिक सामग्रीमा लेखिएवमोजिम, इस्वी सम्वत 89देखि 140 सम्मको, 50 वर्षभन्दा बढी समयभित्र त्यस क्षेत्रमा 33 पटक भूकम्प भएको थियो। तीमध्ये इस्वी 119 सालमा दुई पटक भएको ठूलो भूकम्पबाट दशवटाभन्दा बढी जिल्ला प्रभावित भएका थिए। सो भूकम्पमा परी प्रशस्त घर ध्वस्त हुनुका साथै अनगिन्ती मानिस तथा वस्तुभाउ हताहत भएकाले त्यति बेला भूकम्पदेखि सबै मानिस अति त्रस्त थिए। सम्राटले शायद ईश्वरलाई बेखुशी पारेकाले होला यत्रो भूकम्प भएको भनेर पूजा गर्नका लागि लोक-दुनियाँबाट अझ बढी कर-महसूल उठाउने काम पनि गरियो। त्यस बेला चाङ हन नामका एकजना वैज्ञानिक थिए। उनी खगोल, पञ्चाङ्ग र गणित जस्ता सबै विषयमा निपूर्ण थिए। चाङ हन भूकम्प सम्बन्धी अन्धविश्वासपूर्ण प्रचार-प्रसारमाथि पटक्कै विश्वास गर्दैनथे। उनको विचारमा भूकम्प भनेको एक किसिमको प्राकृतिक क्रिया हो, तर त्यसका बारेमा मानिसहरुको सुझबुझ अति कम छ। यस कारण उनले भूकम्प सम्बन्धी अनुसन्धान कार्यमा झन दत्त-चित्त भएर लागे।
चाङले हरेक पल्टको भूकम्प आउँदा सम्बन्धित दृश्यको ध्यान दिएरै अवलोकन गरे र त्यसका साथै राम्ररी टिपोट पनि गरे। उनले वैज्ञानिक तरिकाबाट भूकम्प हुनुको कारण बारे विश्लेषण गरेका थिए। धेरै वर्षसम्म बारम्बार परीक्षण गरेपछि इस्वी सम्बत 132 मा चाङ हनले चीन र सारा संसारका लागि पनि भूकम्प सम्बन्धी सूचना दिनसक्ने पहिलो यन्त्र बनाए र "भूकम्प सूचक यन्त्र" भनेर यसको नामाकरण गरे।
काँसद्बारा बनाइएको सो यन्त्र गोलो आकारको पीपा जस्तो देखिन्थ्यो। त्यसको व्यास झण्डै एक मीटर थियो। त्यसको ठ्याक्कै बीचमा धातुको मोटो डन्डा थियो भने त्यसका वरिपरि आठवटा धातुका मसिना डन्डी थिए। पूर्व, दक्षिण, पश्चिम, उत्तर, उत्तर-पूर्व, दक्षिण-पूर्व, उत्तर-पश्चिम र दक्षिण-पश्चिम यी आठ दिशामा आठवटा ड्राइगन बनाइएका थिए। आठैवटा ड्रागनको शिर छुट्टाछुट्टै गरी ती मसिना डन्डीसित जोडिएका थिए। अलि-अलि माथि उठ्ने गरेका ती शिरको मुखमा एकेकवटा धातुको सानो गोली हालिएको थियो। आठवटा ड्राइगनका टाउकोको ठीक तलपट्टि आठवटा भ्यागुता माथिबाट गोली झरेमा स्वाट्टै निलिहाल्नका लागि हरहमेशा मुख आँ गरेर टुक्रुक्क बसिराखेका छन्। ती भ्यागुता र ड्राइगन बीच कुनै खेल भइरहेको जस्तो दृश्य निकै रोचक लाग्दछ। त्यसैले सो भूकम्पसूचक यन्त्रको रुप-आकृति बारे वर्णन गर्दा भ्यागुताले ड्राइगनसित खेल खेल्ने यन्त्र भन्नेबित्तिकै सबैले सहजै बुझिहाल्छन्। चाङ हनद्बारा गरिएको डिजाइन अनुसार, कुनै दिशातिर भूकम्प भएमा सो भूकम्पसूचक यन्त्रमा धातुको डन्डी त्यतैतिर ढल्केर जान्छ र सँगै जोडिएको त्यतैतिरको ड्राइगनको मुख आफैं खोलेर त्यो गोली तल बसेको भ्यागुतोको मुखमा ट्याक्क खस्छ जसबाट फलानो दिशातिर भूकम्प भएको भनेर जानकारी पाउना साथ छिटै उद्धार कार्यका लागि चाँजोपाँजो मिलाउन सघाउ पुग्छ।