नेपाली भाषा

श्री चंग व्हौ यीको समाधिस्थल र चीनको प्राचीन बाजा— पेन चुँग

   

प्राचीन कालमा चीनको शासन-सत्ताले संगीतको विकासलाई निकै ठूलो महत्व दिएको थियो। त्यति बेलाका शासकहरुको विचारमा कविताबाट जनतालाई उत्प्रेरित गर्नसकिन्छ भने मीठो संगीत देशको समृद्धिको द्योतक हो। त्यसैले संगीतको स्तर राम्रो कि नराम्रो भन्ने कुराबाट एउटा देश समृद्धि छ कि छैन भन्ने कुराको निर्क्यौल गरिन्थ्यो। सन 1978 मा चीनको मध्य भागमा पर्ने स्वै चौ शहरमा उत्खनन गरी फेला पारिएको एउटा प्राचीन बाजाले विश्वको ध्यानाकर्षण गरेको थियो। क्रमबद्ध रुपमा राखिएका काँसका पातामा ठोकेर बजाउने प्राचीन बाजालाई पेन चुँग भनिन्छ। सो पेन चुँगले चीनको प्राचीन सामग्रीमा उल्लेखित कुरालाई प्रमाणित गर्नुका साथै चीनको प्राचीन सभ्यता बारे थाहा पाउनका लागि पनि नयाँ प्रामाणिक सामग्री प्रदान गरेको छ।

सन 1978 को फेब्रुअरीमा चीनको हु पै प्रान्तको स्वै चौ शहरको एउटा निर्माण स्थलमा सामान्य भूभिका माटोभन्दा फरक देखिने "ह थु" नामको माटो फेला पर्‍यो। "ह थु"लाई जमिनमुनी गाडिएको मानव जातिका प्राचीन गतिविधि सम्बन्धी पूरातात्विक संकेत मानिएको छ। यसले चीनको पूरातत्व विभागको ध्यान आकर्षित गरेको थियो। त्यहाँ उत्खनन गरिएपछि पूर्वदेखि पश्चिमसम्म एक्काइस मिटर लामो तथा दक्षिणदेखि उत्तर-पश्चिमसम्म सोह्र मिटर चौडा प्राचीन समाधिस्थल फेला परेको थियो। समाधिस्थलको ढोकालाई खोलेर हेर्दा त्यसमा राखिएका ठूलो कफिनमा सत्चालिसवटा निकै ठूला ढुंगाका फल्याकहरु पाइएका थिए। क्रेनको सहाराले ती ढुंगाका फल्याकहरुलाई सारेपछि भूमिगत अमूल्य वस्तुको सट्टामा एउटा फुटेको कफिन तीन मिटर जति गहिरो पानीमा तैरिइरहेको देखिएको थियो। पूरातत्वविदहरुले त्यस पानीलाई बाहिर फाल्नुका साथै फुटेको कफिनलाई सफा गरेका थिए। त्यहाँको पानीको सतह घट्दैजाने क्रममा विश्वलाई आश्चर्यचकित पार्ने खालका पूरातात्त्विक वस्तुहरु फेला परेका थिए। सो प्राचीन समाधिस्थलमा काँसका वस्तु, बाजा, हतियार, गाडी र घोडामा प्रयोग हुने वस्तु, सुनका वस्तु, ढुंगाका वस्तु, बार्निस लगाइएको र काठद्बारा बनाइएको वस्तु, तथा बाँसद्बारा बनाइएको वस्तु आदि आठ किसिमका जम्मा पन्ध्र हजारभन्दा बढी पूरातात्त्विक वस्तुहरु फेला पारिएका थिए। ती मध्येका धेरै वस्तुहरु अनौठा र सुन्दर देखिन्थे। यसमा सबैभन्दा बढी ध्यानाकर्षित गर्नेखालको वस्तुमा क्रमबद्ध रुपमा मिलाएर राखिएका पैसट्ठीवटा काँसका पाटामा ठोकेर बजाइने प्राचीन बाजा- पेन चुँग थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान