नेपाली भाषा

लाबा चे चाड

   

चिनियाँ पात्रो अनुसार, वर्षको बाह्रौं महिनालाई "ला युए" भनिन्छ। त्यसका आधारमा बाह्रौं महिनाको आठौं दिनलाई "लाबा चे" चाड भनिन्छ। लाबा चे नामक चाड चीनका हान जातिका मानिसहरुको परम्परागत चाड हो। त्यसलाई चीनको वसन्त चाडअघिको संकेत पनि भनिन्छ।

ऐतिहासिक विवरण अनुसार, लाबा चे नामक चाड सबैभन्दा पहिले प्राचीनकालमा वर्षको बाह्रौं महिनामा देव-देवीको पूजा-आजा गर्न, प्रार्थना गर्न आयोजित समारोहबाट शुरु भएको हो। त्यति बेला चीनले कृषिमा महत्वपूर्ण ध्यान दिंदैआएको थियो। हरेक वर्ष राम्रो अनाज भित्र्याउन सकेका कारण त्यो आकाश,धरती र सम्पूर्ण देव-देवीहरुबाट प्राप्त संरक्षण र सहायताको परिणाम हो भन्ने विश्वास त्यति बेलाका मानिसहरुमा थियो। देवताहरुप्रति धन्यवाद व्यक्त गर्ने उद्देष्यले मानिसहरु भव्य "धन्यवाद समारोह"को आयोजना गर्नेगर्दथे। यस कार्यक्रमलाई "ला ची "अर्थात् बाह्रौं महिनामा पूजा-आजा समारोह भन्दथे। उक्त समारोहपछि मानिसहरु यस वर्षमा उब्जाइएको चामल,दाल,मकै आदिको खोले वा लेदो बनाएर गाउँले दाजु-भाइ,दिदी-बहिनी,इष्ट-मित्र र छर-छिमेकीहरुलाई बोलाएर एउटै ठाउँमा राखेर खुवाउँथे। यसरी खुशीका साथ यो चाड मनाइन्थ्यो। समय बित्दैजाने क्रममा"ला ची"लाई, मुख्य रुपमा स्वर्गीय पूर्वजहरुको सम्झनामा उनीहरुको पूजा-आजा गर्ने चाडको रुपमा परिवर्तन गरियो। पाँचौं शताब्दीमा त्यस बेलाको सरकारले चिनियाँ पात्रो अनुसार बाह्रौं महिनाको आठौं दिनलाई लाबा चे नामक चाडको रुपमा मनाउने निर्णय गरेको थियो।

चीनमा वौद्ध धर्मको प्रवेश भएपछि लाबा चे नामक चाडमा पूर्वजहरुको पूजा-आजा गर्ने र खोले खाने लोक-चलनका आधारमा उक्त बाह्रौं महिनाको आठौं दिन शाक्य मुनि बुद्धको बुद्धत्व प्राप्तिको दिन भएको विश्वास गर्नथालियो। यस सम्बन्धी कथाका शब्द मोटामोटी रुपमा यस प्रकार छनः शाक्य मुनिले बुद्धत्व प्राप्त गर्नुअघि धेरै वर्षसम्म भोकै योगाभ्यास गरे तापनि कुनै फल पाउन नसकेकाले त्यसलाई परित्याग गर्ने निर्णय गरे। भोकका कारण उनी एकदमै दुब्लाए। त्यस बेला उनले एउटा नदीको किनारमा गाई-गोरु चराइरहेकी एउटी केटीलाई भेटे। ती केटीले घरबाट तीन-चार किसिमका चामलको खोले ल्याएर उनलाई दिइन्। खाने कुरा खाएपछि उनको स्वास्थ्य राम्रो भयो। अनि उनी अझै पनि पिपलको बोटमुनि बसेर ध्यानमग्न भए। अन्त्यमा बाह्रौं महिनाको आठौं दिन उनले बुद्धत्व प्राप्त गरे। यस घटनाको सम्झना स्वरुप वौद्ध धर्मका अनुयायी र समर्थकहरु चामल र केही सुकेका फल-फुल वा तिनका बियाँ मिसाएर खोले पकाउँथे र बुद्धलाई अर्पण गर्थे। अनि त्यसपछि मानिसहरुले त्यस खोलेलाई"लाबा चाउ"को नाउँ दिए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान