राष्ट्रको व्यवस्थ
जन गणतन्त्र चीन मजदूर वर्गको नेतृत्वमा रहेको, मजदूर र किसानको मित्रवत गठबन्धनका आधारमा रहेको र जनता प्रजातान्त्रिक शासन व्यवस्था अन्तर्गत रहेको समाजवादी मुलुक हो। समाजवादी व्यवस्था चाहिं जन गणतन्त्र चीनको मूलभूत राजनीतिक व्यवस्था हो।
संविधान
जन गणतन्त्र चीनको संविधान देशको मूलभूत कानून हो। सामान्यतया संविधानमा एक देशको सामाजिक व्यवस्था सम्बन्धी आधारभूत सिद्धान्त, राष्ट्रिय संस्थाहरुको आधारभूत सिद्धान्त र नागरिकको मौलिक अधिकार तथा कर्तव्य आदि महत्वपूर्ण विषयहरु समावेश गरिएका हुन्छन्। कुनै संविधानमा राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रिय चिन्ह, राजधानी र शासक-वर्गद्बारा र राष्ट्रिय जीवनका विभिन्न महत्वपूर्ण क्षेत्रमा संलग्न व्यक्तित्वहरुद्बारा आवश्यक ठानिएका अन्य महत्वपूर्ण कुराहरु पनि समावेश हुन्छन्। संविधानमा सर्वोच्च कानूनी अधिकार रहेकोले त्यो अन्य नियम-कानूनको निर्माणको आधार पनि हो। ती सबै कानून र नियमहरु संविधानको भावना र मर्मसित मेल खाने खालका हुनुपर्छ।
जन गणतन्त्र चीन स्थापित हुनुअघि प्रकाशित गरिएको "चिनियाँ परामर्शदात्री सम्मेलनको संयुक्त कार्यक्रम" चिनियाँ प्रजातन्त्रको एकीकरण मोर्चाको कार्यक्रम हुनुका साथै त्यसले अस्थायी संविधानको भूमिका पनि निर्वाह गरेको थियो। उक्त कार्यक्रमलाई चिनियाँ परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठकमा पारित गरी सन् 1949 को सेप्टेम्बर 29 तारिखका दिन प्रकाशित गरिएको थियो। त्यसले, सन् 1954 मा "जन गणतन्त्र चीनको संविधान" प्रकाशित हुनुअघि वास्तवमा अस्थायी संविधानको भूमिका पनि निर्वाह गरेको थियो।
सन् 1949 को अक्टोबर एक तारिखका दिन जन गणतन्त्र चीनको स्थापना भएपछि नयाँ चीनले सन् 1954, 1975, 1978 र 1982 मा चार पटक "जन गणतन्त्र चीनको संविधान"को तर्जुमा गरी लागू गरेको थियो।